साउदी लरीमा नेपाली भाषा: सरु जोशी (श्रोत: बिचार।विवेचना, कान्तिपुर)

|
प्रसङ्ग साउदी अरब भ्रमणको हो । वैदेशिक रोजगारीका विषयमा अध्ययन गर्न गएको त्यस भ्रमणमा मन छुने अनुभव सँगाल्ोकी थिएँ । साउदीको दूतावास नेपालमा नभएकोले भिसा लिनका लागि त्यहाँ होटल बुकिङ गर्न असाध्यै समस्या परेको थियो । जानु अघि नै समस्या परेकोले नयाँ देश जाँदाको उत्साह शिथिल भएको थियो । दोहामा हवाईजहाज फेर्न ट्रान्जिटमा बस्नुपरेकोले केही घन्टा बिताउनु थियो । रेष्टुराँमा खाना खान लाइन बसेका बेला ३-४ जना फुर्तिला नेपाली भाइ भेटिए । कसैले दिदी त्यो टेबुलमा बस्नुस् न, सस पानी अर्को टेबुलमा छ भनेर स्नेह जताए । साह्रै खुसी लाग्यो । तर सबै थिर भएर कुरा नगरी हिँडिहिँडी बोलिरहेकाले अनौठो लाग्यो । मेरो मनसाय बुझेर होला, उनीहरूमध्ये एकले हामी तपाईसँग बोलिरहेको देख्ो भने मालिकले राम्रो मान्दैनन्, तलब दिने बेला किचकिच गर्छन् । अर्को भाइले ‘नेपाल कस्तो छ, उस्तै छ कि केही राम्रो भा’छ दिदी’ भनेर प्रश्न गरे । मैले पनि हाँस्दै तपाईंहरू सबै विदेश लाग्नु भा’छ, अनि देश कसरी राम्रो हुन्छ ? तपाईंहरूको देश तपाईंविना कसरी राम्रो हुन्छ भन्दै हाँसेर जवाफ दिएँ । भावुक हुँदै तेस्रो भाइले भने, ‘नेपाल गएर के गर्ने ? काम छैन ? हुलदङ्गामा कति हिँड्ने ? पेट त भर्नैपर्‍यो, ऋण तिर्नैपर्‍यो, घर-परिवार पाल्नैपर्‍यो…।’ मुखभरि जवाफ पाएर म शान्त भएँ । साउदीको एयरपोर्ट ओर्लेपछि मलाई जताततै फुङ्ग, सेतो आकाश, बालुवाका रङ्गजस्ता घर, न हरियाली, न पहाड एक प्रकारले नरमाइलो लाग्यो । शून्य सहर, न चहलपहल, बन्दजस्ता देखिने पसल, मानिस हिँडेको मुस्किलले देखिने । मलाई लाग्यो, रियाद स्तब्ध भएर ठिङ्ग उभिएको छ, निरस, बेरङ्ग । मन खिन्न भयो । तर व्यावहारिक भएर दृष्टिकोण बनाउन सहर, देश हेर्नुपर्छ भन्ने लाग्यो । फेरि दिमागको एक कुनाबाट मलाई यो सहर मनपर्नु-नपर्नुको के अर्थ, जब लाखौं नेपालीलाई यसैले रोजगारी प्रदान गरिरहेको छ । तेलको कारणले सर्वशक्तिमान राज्य हो भन्ने लाग्यो र चित्त बुझाएँ । अर्को दिन नेपालीसँग भेटघाटको सिलसिला सुरु भयो । गुनासा यस्ता थिए- यहाँ तलब समयमा नदिने, भनेको काम नदिने व्यवहार हुन्छ । काम गर्दागर्दै मरेकोलाई पनि सुत्दासुत्दै मरेको भन्ने बनाइदिन्छन् । बङ्गलादेश, श्रीलंकाले ठूला सहरमा कन्सुलेट अफिस खोलेका छन् । हाम्रो छैन, त्यसैले उनीहरूसँग हामी नेपालीको अधिकारका लागि बोलिदिने कोही छैन । काठमाडौंसँग सीधा प्लेन नभएकाले विदामा घर जान पनि नसकी भौंतारिनुपर्छ । सडक दुर्घटनामा कति मारिन्छन्, साउदीले घाममा हाम्रो पसिना र रगत सुकाएर सुकुटी बनाइसक्यो आदि-इत्यादि । मैले पछिल्लो जवाफलाई समात्दै सोधेँ, यत्तिका समस्या रहे पनि किन साउदी आउने नेपालीको संख्या नघटेको, दोहोर्‍याई-तेहोर्‍याई तपाइर्ंहरू किन सुकुटी बन्न आउनुहुन्छ ? उनीहरूको प्रतिक्रिया थियो- यो देशमा पैसा बचाउन सकिन्छ । डिस्कोमा जाने, रक्सी खाने आदि जस्ता कुलतमा लाग्ने सम्भावना कम छ । कतिले त असाध्यै राम्रो काम गरेका छन् । साधारण लेबर भएर आएकाले पनि अनलाइन कोर्स गरेर इन्जिनियर भएका छन्, पत्रकारिता गरिरहेका छन् । यहाँ आउनेले देशको महत्त्व बुझ्छन्, अतिरिक्त करहरू लाग्दैन । देशमा बिग्रेर केही काम नलाग्ने भएर आएका पनि यहाँ आएर सपि्रन्छन् आदि-इत्यादि । मैले पुनः प्रश्न गरेँ- तपाईंहरूमध्ये यहाँ कोही १०, कोही १३ वर्ष बिताउने पनि हुनुहुन्छ ? किन यसरी घरिघरि आइरहनुभएको, अनि कहिलेसम्म आइरहने ? एक नेपालीले भने- विदेश आएर काम गर्ने भएपछि २ वर्षमा १ महिनाको विदामा घर जाने, परिवार नातागोता भेट्ने, रमाइलो गर्ने अनि र्फकने गरिन्छ । अब त परिवारसँग निरन्तर बस्दा, दिनरातको कचकच सुन्दा झर्को लाग्ने भएछ । नेपालका साथीभाइसँग गफ पनि नमिल्ने भइसक्यो । उनको उत्तर सुनेर म स्तब्ध भएँ । यसरी नै पलायन संस्कृति विकास भयो भने यसको दूरगामी असर घरपरिवार र राष्ट्रलाई के होला ? वैदेशिक रोजगारीमा देखिएको एक महत्त्वपूर्ण जोखिम पारिवारिक विखण्डन, पुनः आप्रवास तथा पलायनको संस्कृति हो । तर मैले व्यंग्य गर्दै उनलाई भनेँ, त्यसो भए तपाईंको भूमिका “भिजिटिङ प्रोफेसरको मात्र हो त घरमा ? महिनामा एकपल्ट तलब अनि २-४ वटा फोन गरेर अभिभावक, श्रीमान, छोरा र नागरिक हुनुको कर्तव्य पूरा हुन्छ ? उनले पुनः जवाफ दिए, यस विषयमा देशले पो सोच्नुपर्छ होइन र ? कसरी आफ्नो नागरिकले देशभित्र शान्तिसँग बाँच्न पाउने ? उसलाई के रोजगारी दिने ? देशको लागि हामीले आफ्नो पसिना, श्रम, ज्यान दिएर काम गरिरहेछौं । हामीले पठाएको पैसाले देशको गरिबी घटेको छ । होटल, ट्राभल, पसल, बैंक, मनी एक्सचेन्ज, एयरलायन्स खुलेका छन् । हाम्रो पैसाले शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत आवश्यकता र पूर्वाधार खडा गर्न सहयोग पुगेको छ । अर्का पनि के कम, उनले थपे- हामीजस्ता लाखौं कामदार तथा तिनका परिवारबारे राज्यले सोच्नुपर्‍यो, भिजन हुनुपर्‍यो नि भिजन, म त अवाक भएँ । म जति दिन साउदी अरब बसेँ, मनमस्तिष्कमा राष्ट्रवाद र व्यवहारवादबीच संघर्ष चलिरह्यो । गर्मी, रुखोपना, बन्द प्रणाली भएको देशमा मानवअधिकारको अवस्था देख्दा हरे…यस्तो देशमा नागरिक पठाउनु कस्तो लाचारीपन, खै त राष्ट्र हितका लागि हामीले काम गरेको ? गरिब राष्ट्रका जनताको मोल भेडा-बाख्राजस्तो हुने त भन्ने लाग्यो । फेरि देशमा कत्ति काम नगर्ने, रक्सीमा मस्त रहने, झैझगडामा समय बर्बाद गर्ने, काम नपाएर घर-समाजका लागि बोझ भएर बसेका नेपालीले साउदीमा अनुशासन सिकेको । समय, पैसा, रोजगारीको महत्त्व बुझेको देखेँ । देशबारे सरोकार उठाएको, चिन्तित भएको, अलपत्रमा परेकाहरूलाई आ-आफूमा पैसा उठाएर अस्पताल लगेको, देश फर्काउन सहयोग गरेको देख्दा असाध्यै गर्व पनि लाग्यो । अधिकांश बौद्धिक छलफलमा हुने ‘ब्रेन ड्रेन’ पूरै सही होइन रहेछ भन्ने मैले सउदी गएर सिकेँ । ‘ब्रेन गेन’ पनि हुँदोरहेछ भन्ने थाहा पाएँ । कताकता मनमा केही काम नगरेर बस्ने, रक्सी, नशामा लागेर भौंतारिरहेकालाई २ वर्ष अनिवार्य रूपमा अनुशासन सिकाई तह लगाउन साउदी अरब पो पठाउनुपर्ने रहेछ जस्तो पनि लाग्यो । मनमा अवसर वा जोखिमका मिश्रति तरङ्ग, भावहरू गोता खेलिरहे । नेपालीसँग भेटघाटको सिलसिलामा रियादबाट हामी दमाम लाग्यौं । बाटोको दायाँ-बायाँ अनन्तसम्म बालुवा नै बालुवा, फुङ्ग उडेको सेतो आकाश, एकैपटक ७ वटा सूर्य उदाएजस्तो गर्मी देखेर फेरि राष्ट्रवादले मभित्र डुबुल्की मार्‍यो । हरे यस्तो निरस ठाउँ, भाषा फरक, संस्कृति फरक, धर्म फरक, खानपिन फरक, पहिरन फरक, अझ त्यसमाथि प्रचण्ड गर्मी सम्झेर कसरी काम गर्दा हुन् नेपालीले भनेर मन भारी भयो । यस्तो दुःखले पैसा कमाएर देशबाट गरिबी निवारण गर्न योगदान दिने यी नेपालीलाई सम्झेर हृदय दुख्यो, आत्मग्लानि भयो । अगाडि एउटा ठूलो ट्रक गुडिरहेको देखेँ । आश्चर्य, त्यसमा त “फेरि भेटौंला” पो लेखिएको रहेछ । त्यहाँका अधिकांश ट्रक, ठूला लरीहरूका ड्राइभर नेपाली हुँदारहेछन् । प्रचण्ड गर्मीमा नेपाली भाषामा लेखिएका उक्त पंक्ति देख्दा पनि शीतल अनुभव भयो । म त आश्चर्यचकित नै भएँ । त्यसपछि एकपछि अर्को ट्रक, लरी नियालेर हेर्दा अरू प्ानि नेपाली भाषामा लेखिएका पंक्तिहरू देखेँ, ‘नेपाली मन’, ‘जय नेपाल’, ‘नमस्ते’, ‘बिस्तारै आउनुहोस्’, ‘तिमीलाई कसैले पर्खिबसेको छ’, ‘सम्झना जुनीभरिलाई’, ‘नेपाली टोपी नबिर्सौं’, ‘मेरो नेपाल’ आदि । मलाई यी भाखा देखेर टन्टलापुर घाममा सरर हावा चलेको जस्तो शीतल आभास भयो । आँखा रसाए, मन गर्वले फुल्यो । भत्भती पोल्ने विदेशी भूमिमा गरिब नेपाली ड्राइभर दाइभाइहरूले राष्ट्र बोकेर हिँडेको देख्दा गड्याप्प दुई खुट्टा जोडेर सलाम ठोकुँजस्तो लाग्यो । आफ्नो र परिवारको पेट पाल्न हन्डर खाएर विदेशिएका यी नेपालीले राष्ट्र, राष्ट्रियता बोकेर हिँडेको अनुभव मेरो जीवनभरका लागि अविस्मरणीय घटना भएको छ । यसपछि मन फेरि देशको यात्रा गर्न थाल्यो । यी श्रमजीवीले विदेशी भूमिमा नेपालै बोकेर हिँडिरहेका छन्, तर यिनीहरूको पसिनाको मूल्य देश र समाजले कसरी चुकाउने ? यिनको सहयोगका लागि के गर्न सकिएला भन्दै मनमा छट्पटी भयो । दुःखको कुरा, हामी यहाँ नयाँ नेपाल निर्माण गर्न संविधानसभा निर्वाचन गर्न लागेका छौं, तर ‘मतदानको अधिकार’ समेत विदेशमा कार्यरत हाम्रा दाजुभाइले नपाउने भएका छन् । उनीहरू यी सबै बहसदेखि पृथक भएर साउदीको बाटोमा निरन्तर ट्रक गुडाइरहेछन्, सिङ्गो नेपाल बोकेर । Posted on: 2007-06-13 20:17:30