युएई संग श्रम सम्झौता (श्रोत: कान्तिपुर, विचार।विवेचना)

|
उदार र समृद्ध खाडी मुलुक युनाइटेड अरब इरिमेट्स -युएई) मा निरन्तर पूर्वाधार निर्माण तथा औद्योगिक तथा सेवा क्षेत्रको विस्तार भइरहेकाले ठूलो संख्यामा नेपालीले रोजगारीको अवसर पाएका छन् । सबैभन्दा तल्लो स्तरको कामदेखि अत्यन्तै आकर्षक पदमा समेत गरी डेढ लाखभन्दा बढी नेपाली यहाँ छन् । खाडी मुलुकमध्ये पनि युएई सबैभन्दा बढी नेपालीले रुचाएको गन्तव्य हो । छिमेकी मुलुक भारतका नागरिक युएईका उद्योग, व्यवसाय र अरू विभिन्न क्षेत्रमा केही दशक अघिदेखि नै प्रभाव जमाएर बसेकाले बहुसंख्यक नेपालीलाई सुरु-सुरुमा काम पाउन सजिलो भएको थियो । हिन्दुस्तानमा पुस्तौंदेखि सँगै काम गर्दै आएका नेपालीलाई युएईमा काम गर्न बढी सहज पनि छ । उच्च पदमा पुगेका भारतीयसमेत नेपालीलाई काम गराउन सजिलो महसुस गर्छन् । स्वयम् रोजगारदाता वा प्रबन्धक जुनसुकै हैसियतमा भए पनि भारतीयले नेपालीप्रति सदाशयता देखाएका छन् । नेपालीहरू जसरी छिरे पनि कालान्तरमा युएई नेपालीका लागि एउटा आकर्षक रोजगारको गन्तव्यको रूपमा विकास भइरहेको छ । नेपाली समाजसमेत युएईका विविध पक्षका सम्बन्धमा परिचित भइसकेको छ । श्रम विभागको स्वीकृति लिएर युएई जानेको संख्या आर्थिक वर्ष ०५१ मा १ सय ३२ व्यक्तिमात्र रहेकोमा पछिल्ला वर्षहरूमा बर्सेनि २०-२५ हजारभन्दा बढी नेपाली यहाँ आउने गरेका छन् । यसो हुनुका पछाडि युएईले ०५६ साल साउनदेखि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका कामदारहरूको सट्टा नेपालीलाई प्राथमिकता दिनेगरी स्रोत मुलुकको मान्यतासमेत दिएकोले हो । त्यसपछि त झन् दिन दुगुना रात चौगुना नेपालीहरू युएई पस्ने क्रम वृद्धि भइरहेछ । अहिले युएईमा नेपालीहरूको छुट्टै पहिचान तयार भएको छ । नेपालबाट गएका कामदारले त्यहाँ मिहेनती र शान्त प्रकृतिका कामदारको मान्यता पाइसकेका छन् । यद्यपि नेपालबाट युएईतर्फ जाने कामदारमा दक्ष जनशक्तिको संख्या अत्यन्त कम छ । युएईले दक्ष जनशक्तिको विवरण मागेर उनीहरूलाई प्राथमिकता दिने नीति लिइसकेको छ । युएई एकमात्र देश हो, जहाँ कुल जनसंख्याको ८८ प्रतिशत विदेशी नागरिक छन् । भारतीयहरूमात्र २३ लाख बढी छन् । पाकिस्तान, बंगलादेशलगायत मुलुकका पनि १० लाखभन्दा बढी छन् । अरू देशका कामदारको तुलनामा नेपाली कामदारहरूको उपस्थिति अझै पनि निकै न्यून छ । युएईले केही वर्ष अघिदेखि एउटै देशबाट १० लाखभन्दा बढी कामदार नल्याउने नीति अवलम्बन गरेको थियो । यो नियमअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपाली कामदारका लागि महत्त्वपूर्ण अवसर भएको बेला युएईका श्रममन्त्री डा अली बिन अब्दुल्लाह अलकावी श्रम सम्झौताका लागि स्वयम् नेपाल आउनु सकारात्मक पक्ष हो । यो भ्रमणले युएईले नेपाली कामदारहरू रुचाएको प्रस्ट हुन्छ । केही साताअघि श्रम राज्यमन्त्री रमेश लेखकले युएई भ्रमणको क्रममा उच्चपदस्थ सरकारी अधिकारीसँग भएको कुराकानी र जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा पनि भएको द्विपक्षीय वार्तापछि काठमाडौंमा श्रम सम्झौता गर्ने कार्यक्रम तय भएको थियो । अदक्ष्ा नेपाली कामदारहरूले खासगरी युएईमा निर्माणक्ष्ाेत्र, होटल, सुरक्षा, सुपरमार्केट तथा पानीजहाजहरूमा काम पाउने गरेका छन् । भारतीय उपमहाद्वीपका श्रमिकको संख्या बढ्दै गएको र उनीहरूले दुबईमा विभिन्न खालका अपराधजन्य क्रियाकलाप गर्ने गरेकाले युएईले सुरक्ष्ााका लागि अरू मुलुकका श्रमिकको प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । अहिलै युएई सकेसम्म सबै प्रकारका कामदार नेपालबाट लिने सोचमा छ । नेपाली कामदारहरूले दुबईमा अति मिहेनत र शान्तिपूर्वक काम गर्ने भएकाले उनीहरूलाई सकारात्मक किसिमले हेर्ने गरिएकोमा विवाद छैन । नेपाली कामदारको अपराध दर एकदमै नगण्य छ । दुबईमा निकै विश्वास देखाएको महत्त्वपूर्ण समयमा युएईका श्रममन्त्री नेपाल आएको समयलाई त्यहाँ रहेका नेपालीहरूको तलब, सुविधा वृद्धि तथा अधिकार सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्छ । झन्डै डेढ दशकअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दोहाको भ्रमण गर्दा १ सय २५ अमेरिकी डलर मासिक तलबमा नेपाली कामदार पठाउन तयार भएको बताएपछि खाडी क्षेत्रमा नेपालीको संख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको हो । अहिले पनि धेरै नेपाली सम्झन्छन्, यदि कोइरालाले त्यतिबेला नेपाली कामदारको न्यूनतम तलब ३ सय डलर हुनुपर्छ भन्दिएको भए….। श्रम सम्झौता गर्ने समयमा विचार पुर्‍याउनुपर्ने मुख्य कुरा यही हो । नेपाल र युएईबीच सन् १९७७ मा दौत्य सम्बन्ध स्थापना भए पनि उच्चस्तरीय भ्रमण कम भएकाले न्यूनतम तलब पुनरावलोकन हुनसकेको छैन । नेपाल र युएईमा समेत दैनन्दिन मूल्यवृद्धि भएकाले न्यूनतम तलब तथा सुविधामा पुनःविचार नगरी हुँदैन । वैज्ञानिक ढंगले तलब तथा सुविधा बढ्नेगरी श्रम सम्झौतामा प्रस्ट व्यवस्था गर्नुपर्छ । अहिले युएईमा रोजगारदाता कम्पनी र कामदारबीच सम्झौता भई काम हुँदैआएको छ । नेपालले १ सय २५ डलर मासिक तलब पाउने कागजात पेस गर्नेबित्तिकै श्रम स्वीकृति पाउने भएकाले नेपालीले यही तलबमा काम गर्नुपर्ने अवस्था छ । सरकारी तहबाट निरन्तर निरीक्षण तथा अनुगमन गर्नुपर्ने आवश्यकता खट्किरहेछ । श्रम सम्झौता गर्दा नेपालबाट भिजिट भिसामा युएईमा पुगेका विभिन्न समस्या भोग्दैछन् । यसलाई बढी व्यवस्थित बनाउनुपर्छ । उनीहरू जुन रूपमा गए पनि त्यहाँ गएपछि हुने कानुनी हैसियत प्रस्ट पार्नुपर्छ । अहिले युएईमा धेरैजसो कामदारको काम गर्ने समय -दिनको ८ घन्टा) को विमा हुने गरेको छ । तर यो विमाको अवधिलाई बढाएर दिनको २४ सै घन्टा र कामदार त्यहाँ कार्यरत रहुन्जेलसम्मका लागि विस्तारको मामिलालाई श्रम सम्झौताको अवसरमा राख्नुपर्छ । यदि श्रम सम्झौतामा नेपाली कामदारको न्यूनतम तलब अभिवृद्धि, बिमा लगायतका विषयमात्र राख्न सकियो भने आमनेपालीलाई फाइदा हुन्छ । विदेश जाने महिलाको प्रकृति हेरी सरल र सहज वातावरण बनाउन पनि पहल गर्नुपर्छ । घरायसी काममा आउने महिलामाथि लगाएको प्रतिबन्ध हटाई कानुनी रूपमा आउने वातावरण सिर्जना गर्नुपर्छ । यस सम्बन्धमा श्रम सम्झौतामा उल्लेख गर्नुपर्ने आवश्यकता छ । युएईमा विभिन्न माध्यमबाट पुगेर दुःख पाएका नेपालीको उद्धारका लागि नेपालीहरूले दूतावासमा र विभिन्न राज्यमा कल्याणकारी संस्था र कोष स्थापना गर्न पाउने व्यवस्था पनि आवश्यक छ । यसैगरी नेपाली समाजलाई त्यहाँको सरकारी निकायमा दर्ता गर्ने व्यवस्था हुनु आवश्यक छ । सरकारले अहिले नेपाली कामदारका लागि जस्ता सर्त राख्न र छलफल गराएर बुझाउन सक्छ, त्यसै आधारमा नेपाली कामदारको भविष्य निर्धारण हुने भएकाले गम्भीरतापूर्वक सोच्नु जरुरी छ । (लेखक, नेपाली समाज युएईका अध्यक्ष हुन् ।)