एनआरएनलाई राम्रोसंग अघि बढाउन सक्ने नेतृत्व आवश्यक छ – देवमान हिराचन (श्रोत: freenepal,com, कुराकानी )

|
देवमान हिराचन/ संयोजक, एनआरएन तेस्रो विश्व सम्मेलन आयोजक समिति अगष्ट, २ काठमाडौं देवमान हिराचन गैरआवासीय नेपाली संघ तेस्रो विश्व सम्मेलन आयोजक समितिका संयोजक हुनुहुन्छ । जापानमा रहेर एसिया प्यासिफिक क्षेत्रको उपाध्यक्षको नेतृत्वसमेत सम्हाली रहनु भएका हिराचनसँग हामीले सम्मेलनको तयारीका बारेमा संक्षिप्त कुराकानी गरेका थियौ । प्रस्तुत छ सोही कुराकानीका केही अंशः सम्पादक गैरआवासीय नेपाली संघको अक्टोबरमा सम्पन्न हुन गइरहेको तेस्रो विश्व सम्मेलनको तयारी कसरी अघि बढिरहेको छ, केही बताइदिनुहोस् न ? सर्वप्रथम त तेस्रो विश्व सम्मेलनको तयारीका क्रममा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनबीचमा एउटा आयोजक समिति गठन गरिएको छ। त्यसको जुलाई २७ मा पहिलो बैठक परराष्ट्र मन्त्रालयमा सम्पन्न भइसकेको छ। साथै अहिले नेपाली एनआरएनको फोकल मिनिस्ट्री परराष्ट्र मन्त्रालय भएकाले सबै कुराहरु परराष्ट्र मन्त्रालयमार्फत कार्यक्रमहरु तय भइरहेको छ। सम्मेलन त यसअघि पनि दुई वटा भइसकेको छ, विगतका सम्मेलनहरु र तेस्रो विश्व सम्मेलनमा केही भिन्नता हुनेछ ? त्यसमा धेरै फरक हुनेछ । पहिलो कुरा त के फरक छ भने, पहिला एनआरएन भनेको थाहा थिएन, चिनाउन समय लागेको थियो । एनआरएनले के गरिरहेको छ, के हो भन्ने कुरा पनि सबैलाई थाहा थिएन । तर, अहिले संसारभर एनआरएनका विषयमा थाहा भइसकेको छ। अहिले एनआरएनको विश्वका ३६ वटा राष्ट्रमा एनसीसी पनि गठन भइसकेको छ। यसले गर्दा पनि एनआरएनले अब के गर्छ भन्ने कुरा देखाउनुपर्ने भएकाले अब चार पाँच वटा गर्नुपर्ने कामहरु एनआरएनको तेस्रो विश्व सम्मेलनमा देखाउँछौ । दोस्रो कुरा यूरोप, एसिया प्यासिफिक, अस्ट्रेलिया, अरब, अमेरिका आदि स्थानमा अहिले भेला तथा बैठकहरु सम्पन्न गरी तेस्रो विश्व सम्मेलनमा के गर्ने भन्ने विषयमा निष्कर्ष निकालेर विश्व सम्मेलनमा छलफल हुँदैछ । तपाई सुरुबाटै एनआरएनको नेतृत्वमा रहेर काम गरिरहनु भएको छ, प्रारम्भिक दिन र अहिले एनआरएनप्रति सरकारी सोचाई कस्तो पाउनुभएको छ ? सरकारले पूरा सहयोग गर्ने बचन दिएको छ। हाम्रो मुख्य माग हाम्रो संस्था अहिलेसम्म दर्ता हुन सकेको छैन । त्यसमा नेपालको कानुन अनुसार नेपाली नागरिक नै हुनुपर्ने प्रावधान छ, एनआरएनमा पनि विदेशी मुलुकको पासपोर्ट लिएका साथीहरु पनि भएकाले दर्ता हुन नसकेको हो । अहिले हामी नेपाल सरकारसँग गैरआवासीय नेपालीसम्बन्धी कानुन तेस्रो विश्व सम्मेलनअगाडि नै ल्याइयोस् भन्नेमा छौ । र, त्यसपछि हाम्रो संस्था दर्ता हुनुपर्छ अनि एनआरएनले गर्ने कामहरु अगाडि बढ्न सक्छ भन्ने हामीले भन्दै आएका छौ । तेस्रो विश्व सम्मेलनअगाडि विधेयक पारित हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? परराष्ट्र मन्त्रालय हाम्रो फोकल मन्त्रालय भएकाले पक्का पनि अक्टोबरसम्म पारित हुनेछ । परराष्ट्र मन्त्रीज्यूले पनि हामीलाई त्यही बचन दिनुभएको छ। विधेयक त आउला तर दोहोरो नागरिकता, संस्था दर्ताजस्ता विषयलाई समेटेर आउला कि नआउला भन्नेमा तपाईहरुको के विचार छ ? पहिला एनआरएनसम्बन्धी कानुन आउनुपर्‍यो । दोहोरो नागरिकताको विषयमा विदेशी नागरिकता भएको नेपालीहरुलाई पीएनओ कार्ड दिने र नेपालमा बस्न दश वर्षे भिसा दिलाउने आदि कुरा माग गरिएको छ। भोटिङ राइट आदिका बारेमा पनि माग राख्दै आवाज उठाउँदै गर्ने हो पक्का पनि हाम्रा उद्देश्य र मागहरु पूरा हुनेछन् । तर, अहिले तरुन्त हुन नसके पनि यी मागहरु पूरा हुने आशा राखेका छौं । ठुलो राजनीतिक परिवर्तनपछि एनआरएनको तेस्रो विश्व सम्मेलन हुँदैछ, सम्मेलनले कुनै विशेष योजनाहरु ल्याउँदैछ कि ? धेरै कुराहरु छन् । नयाँ नेपाल भन्ने जुन शब्द निकाल्छन्, मान्छे पूरानो भएर नयाँ नेपाल हुँदैन, काम नयाँ नै हुनुपर्‍यो । त्यसैले नेताहरुसँग पनि हामीले विचार आदान-प्रदान गर्ने कार्यक्रम राखेका छौं । यसपाली एनआरएनका धेरै समस्याहरु विगत चार वर्षमा हामीले के गर्‍यौं ? भन्ने कुराको छानविन गर्ने, त्रुटिहरु रहेछन् भने सुधार गर्ने, अहिलेसम्म राम्रो छ भने त्यसलाई अगाडि बढाउनेजस्ता कुराहरुलाई यस पटक विशेष गरेर एनआरएनकाबीचमा एनआइसीसी र एनसीसीबीचमा छलफल भइरहेको छ। अस्पष्ट रहेका कतिपय कुराहरुलाई स्पष्ट गर्ने र एक अर्कामा भएका त्रुटिहरुलाई पनि स्पष्ट गर्दै जाने उद्देश्य रहेको छ। देशमा शान्ति भएन र लगानीको वातावरण बनेन भनिएको थियो, अब त देशमा शान्ति स्थापना भएको छ, एनआरएनहरुले कस्तो वातावरण खोजेका हुन् ? लगानी त अहिले पनि भइरहेको छ। तर, एउटा समस्या भनेको एनआरएन दर्ता भएको छैन । यो दर्तापछि त्यो वातावरण हुन्छ । वातावरण तयार हुने वित्तिकै कुनै न कुनै किसिमबाट नेपालमा लगानी भित्रने छ। अहिले पनि १४ वटै अञ्चलमा ट्रेड स्कुलको स्थापनाको कुरा भइरहेको छ । सबै जिल्लामा शिक्षा, स्वास्थ्य, पानीजस्ता कुरामा पनि केही गरौ भन्ने योजनाहरु अघि सारिरहेका छौ । कामहरु विस्तारै अघि बढिरहेको छ । तर, संस्था दर्ता हुन सक्यो भने अझ बढी मात्रामा गति बढ्छ भन्ने विश्वास गरेका छौ । शान्तिभन्दा पनि कानुनी रुपमा वातावरण बन्नु पर्‍यो भन्न खोज्नु भएको हो ? हो, कानुनी वातावरण बन्नु पर्‍यो । जस्तै खेतमा रोप्नका लागि खेतमा मल हाल्नु पर्‍यो, पानी आउने ठाउँ हेर्नु पर्‍यो सबै भएपछि खेतमा बाली राम्रो हुन्छ । तर, त्यो वातावरण छिटै नै बन्नेछ भन्ने आशा गरेका छौ । एनआरएनको यो सम्मेलनमा नेतृत्व चयन पनि हुन्छ होला । के छ नेतृत्व चयनका बारेमा ? परिवर्तनका सम्भावनाहरु छन् कि ? परिवर्तन भन्ने कुरा समयले गर्ने कुरा हो । तैपनि हामीले यो नेतृत्व वा यो उ भन्नु भन्दा पनि हाम्रो उद्देश्य के हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ । सार्क मुलुकबाहिर रहेका सबै १८ लाख नेपालीहरुलाई प्रष्ट गरेर देखाउन सक्नुपर्छ । खाली हामी आफू नेता बनेर आफू माथि मात्र आउने भन्ने उद्देश्य छैन । तर, अहिलेको जुन केन्द्रीय सदस्यहरु छन्, उहाँहरु पनि आ-आफ्नो ठाउँ र क्षेत्रका बुद्धिजीविहरु हुनुहुन्छ । आ-आफ्नो ठाउँमा सक्रिय भएर काम गरिरहनु भएको छ। यो विषयमा हामी सबै मिलेर राम्रो किसिमले एनआरएनलाई अघि बढाउन सक्ने किसिमको नेतृत्व हामीलाई चाहिन्छ भन्ने लागेको छ। पूरानो टिमले नेतृत्व छोड्ने वा त्यस्तो कुनै कुरा त भएको छैन ? त्यस्तो केही पनि छैन । सबै जनामा एउटै विचार छ । जति मान्छे बढ्दै गयो कुराहरु फरक फरक सुन्नु स्वाभाविक हो । तैपनि हामीले अन्य केही सोचेका छैनौं । हामी १८ लाख एनआरएनको तथ्याङ्क प्रस्तुत गर्छौ, एनआरएनमा पनि विकसित देशका नेपाली बढी छन् । तर, लाखौ नेपाली रहेका खाडी क्षेत्रका नेपालीहरुले एनआरएन भनेको हाम्रो लागि होइन भन्ने गुनासो आउने गरेको छ, यसलाई एनआरएनले कसरी सम्बोधन गर्ने सोचेको छ ? एनआरएन भनेको नेपालमा पैसाको लगानीको अर्थमा मात्र बुझेका छौं । तर, सीप लगानी, बुद्धिको लगानीको कुरा ओझेलमा परेको छ। जस्तो मलेसियालगायत अरब क्षेत्रमा जति पनि नेपालीहरु छन् उनीहरुको विमाको व्यवस्था हुनुपर्छ भन्ने आवाज हामीले नै उठाएको हो । अहिले आउने जाने व्यवस्थाका लागि कुनै पनि समस्या छ भने एनआरएनले नै लिइरहेको छ। हामीले आ-आफ्नो क्षेत्रमा के गर्न सकिन्छ भनेर सोच्ने मात्र हो । हामी एनआरएन भनेको १ सय ८२ दिनभन्दा बढी बाहिर बसेका सबै एनआरएन हुन् । कसैले लेबरको काम गरेका छन्, कसैले डाक्टरको काम गरेका छन् भन्नेमा कुनै भेदभाव छैन । तर, मान्छेमा त्यस किसिमको भ्रम परिरहेकाले त्यसलाई स्पष्ट पार्न पनि बाहिर जाने नेपालीहरु सुरक्षित हुनुपर्छ भन्ने माग गरेका छौ । अहिले पनि नेपालीहरु विदेशमा अलपत्र परेको खबरहरु पढ्न पाइन्छ, त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा हामी नेपाल सरकारसँग कुरा गर्दैछौं । यहाँबाट बाहिर जाने साथीहरु पनि अलि व्यवस्थित किसिमबाट जानुपर्छ भन्ने माग पनि एनआरएनले गरेको छ। त्यसैले यो धनी र बुद्धिमानहरुको संस्था मात्र होइन सबैको हो । एनआरएन भनिएका १८ लाखमध्ये धेरै नेपाली खाडी क्षेत्रमा छन् र बढी समस्यामा पनि उनीहरु नै छन् उनीहरुका बारेमा एनआरएनले कुनै नयाँ योजना तय गर्दैछ कि ? गर्दैछ । भर्खरै एसिया प्यासिफिक भेला भएको थियो सिंगापुरमा । त्यसबेला पनि मलेसियाका कायममुकायम राजदूत पनि आउनु भएको थियो । उहाँले त्यहाँका समस्याहरु प्रस्तुत गर्नुभएको थियो । हामीले त्यो समस्यालाई सम्बोधन गर्न माग गरेकै कारण श्रम कानुनहरु आइरहेको छ। यसमा परिवर्तन गर्ने क्रम सुरु भएको छ। मेरो विचारमा सबै एनआरएनको माग पहिला एक जनाले हामीले यसो गर्नुपर्छ भनेर भन्थ्यो भने अहिले हामी १८ लाख नेपालीको जुन आवाज छ त्यो आवाज नेपाल सरकारले पनि सुन्न बाध्य भएकाले हाम्रा मागहरु विस्तारै पूरा हुँदै गएको छ। विश्वव्यापी सञ्जाल रहेको अनेसासलगायत अन्य धेरै संघ/संस्थाहरु पनि विदेशमा छ, उनीहरुलाई पनि समायोजन गरेर जाने विषयमा एनआरएनको सोचाई के छ ? एनआरएनको उद्देश्य नै के हो भने हामी अरु संस्था जस्तो होइन, तपाईलाई गुलियो मनपर्छ, अर्कोलाई अमिलो मनपर्छ, कसैलाई तितो मन पर्ला, मैले तितो खान्छु भने अरुले पनि तितै खानुपर्छ भन्नु हुँदैन । तपाईले गुलियो खान पाउनुपर्छ, तितो मनपर्नेले तितो खान पाउनुपर्छ ठिकै छ । तर, त्यो सबैलाई मिलाएर अर्को एउटा टेस्ट बनाउछौं त्यसलाई हामी एनआरएन भन्छौ हामी । यो एउटा साझा संस्था हो । यो साझा संस्थामा सम्पूर्ण क्षेत्रका साथीहरु समेटिने छ्न । एउटै कुरा यहाँ राजनीति हुनुहुँदैन । हाम्रा अध्यक्षज्यूले भन्नु हुन्छ, ‘पशुपति नाथमा जाने बेलामा को धनी को गरिब भनेर छुट्याएर जाँदैनौं, त्यस्तै एनआरएन पनि एउटा पवित्र संस्था हो । यो संस्थाभित्र आउन सबैलाई स्वागत छ, सबै आउन सक्छन् । तर, यो संस्थाभित्र आएर राजनीतिक गतिविधि गर्नु हुँदैन त्यति मात्र फरक हो । त्यसैले अहिले विभिन्न क्षेत्रका साथीहरु समेटिने क्रम पनि तीब्र भएको छ। तेस्रो सम्मेलनका सन्दर्भमा आम एनआरएनहरुलाई केही सन्देश दिन चाहनु हुन्छ कि ? देशबाहिरका साथीहरुलाई पनि आफ्नो जुन विचार छ, त्यो व्यक्त गर्ने मौका चाहियो, नेपालमा बस्ने नेपाली र बाहिर बस्ने नेपाली हामी एउटै हौं भनेर सोचौं । हामी बाहिर बसेर नेपालका लागि केही गरौ भनेर लागेका छौं, नेपालभित्र बसेर पनि केही गरौं भनेर लागेकाहरुबीच एक भएर जानुपर्छ । देशबाहिर रहेकाले नेपालको मतलब नगर्ने र नेपालमा रहेकाले बाहिरकालाई मतलव नगरेर हुँदैन । हामी ‘तिमी म’ होइन ‘हामी’ हो । हामी एकजुट भएर जानुपर्छ । हामी पवित्र संस्थालाई सबै मिलेर देश बनाउने भन्नेतिर सोचौं । देशले के गरिदिन्छ होइन देशलाई हामीले के गर्नु पर्‍यो भन्ने दिशामा अघि बढ्न म सबैमा अनुरोध गर्दछु ।